Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ३० गते ।

अमेरिकी राष्ट्रपतिडोलाल्ड ट्रम्पले चीनलाई इरानलाई कुनै पनि प्रकारको सैन्य सहायता नदिन चेतावनी दिएका छन्। उनले आइतबारको एक अन्तर्वार्तामा चीनले इरानलाई सैन्य सहयोग गरेको पाइएमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् ।
ट्रम्पले बेलायतसहित केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउन नौसैनिक जहाजहरू पठाउने तयारी गरिरहेको पनि जानकारी दिए। उनले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्गठन आवश्यक समयमा अमेरिकासँग साथ नउभिएको आरोप लगाए। उनका अनुसार अमेरिका नेटोमा ठूलो खर्च गर्छ तर अपेक्षाअनुसार सहयोग पाउँदैन, त्यसैले यस विषयमा गम्भीर समीक्षा आवश्यक छ।

यसअघि ट्रम्पले सही समय आएमा अमेरिका इरानविरुद्ध सैन्य कारबाही गर्न तयार रहेको संकेत गरेका थिए। उनले सामाजिक सञ्जालमा अमेरिका “लक्ड एन्ड लोडेड” अर्थात् पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन्। उनले इरानलाई टोल तिर्ने जहाजहरू रोक्ने चेतावनीसमेत दिएका थिए।

इरानले भने होर्मुज स्ट्रेट आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूलाई शुल्क तिर्नुपर्ने बताएको छ। ट्रम्पले इरानसँग युद्धविराम कायम रहेको बताए पनि सोमबारदेखि नौसैनिक नाकाबन्दी लागू हुने जानकारी दिएका छन्।

यस घटनाक्रमले विश्व बजारमा असर पारेको छ, विशेषगरी एसियाली सेयर बजारमा गिरावट देखिएको छ। तेल आपूर्तिमा अवरोधको चिन्ताले लगानीकर्तामा डर बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *