सामाजिक फीड–
जनकपुरधाम, चैत २७ गते ।
कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादव फरार भएका छन् । सोमवार विहान हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई मेयार यादवले गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको आरोप छ ।
प्रहरीका अनुसार कुटपिटबाट उनको हड्डी भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा पनि चोट लागेको छ । कार्यालय सहयोगी यादवको अहिले विराटनगरमा उपचार भइरहेको छ । कुटपिट घटनामा मेयर यादव विरुद्ध अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले बताए ।
उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले मेयर यादवको खोजीकार्य गरिरहेको छ ।
पक्राउ पुर्जी जारी भएपछि मेयर यादवले भने मोबाइल स्विच अफ गरेका छन् । मेयर यादव अहिले भारत भागेको समेत उनलाई पक्रिन खटिएका प्रहरीको आशंका छ । प्रहरीका अनुसार उनले ठाउँ परिवर्तन गर्दै भागेका छन् । सोही घटनामा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पहिल्यै पक्राउ परिसकेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।