Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, चैत २६ गते ।


नेपालस्थित अमेरिकी दूतावासले मधेश प्रदेशलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरमा सुरु गरेको छ । इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र आद्यन्त एड्भाइजरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम देशव्यापी पहलअन्तर्गत रहेको जनाइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई दिगो र प्रतिस्पर्धात्मक व्यवसाय निर्माण गर्न आवश्यक सीप प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

यसअन्तर्गत सहभागीहरूलाई लगानी आकर्षित गर्ने तरिका, बजार विस्तार, डिजिटल मार्केटिङ, निर्यात तयारी तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत व्यवसाय प्रवर्द्धन गर्ने विषयमा प्रशिक्षण दिइने  जनाएको छ  ।

उद्यमीहरूलाई आफ्ना व्यवसायिक सोचलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो कार्यक्रम लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा क्रमशः सञ्चालन हुनेछ। सातै प्रदेशका करिब २०० उद्यमीहरू प्रत्यक्ष कार्यशाला र भर्चुअल प्रशिक्षणमार्फत सहभागी हुने अपेक्षा गरिएको छ ।


नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले उद्यमीहरू आर्थिक वृद्धि र नवप्रवर्तनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीच व्यापार तथा वाणिज्य सहकार्यलाई अझ मजबुत बनाउने बताए ।


अमेरिका–नेपाल वाणिज्य कूटनीति अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले उद्यमीहरूलाई सल्लाहदाता, लगानीकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूसँग जोड्दै व्यवसाय विस्तारमा सहयोग गर्ने लक्ष्य राखेको छ । यसले नेपालको नवप्रवर्तन प्रणालीलाई सुदृढ बनाउँदै दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *