Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २६ गते ।

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।

साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको समेत साहमाथि आरोप छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको समेत पाइएको छ । साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका व्यक्ति थिए ।

मान्छेहरू विदेश पठाउने संस्थाहरूमा उनको संलग्नता रहेको तथ्यहरू आएको र रातिको समयमा गएर भेटघाट गरेको सूचनाहरू पनि प्रधानमन्त्रीसमक्ष पुगेको स्रोतको दावी छ । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेको थियो । सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ ९४० ९क्० ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ। साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने ९राइट टु रिकल० व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए। गत चैत १३ गते मन्त्री नियुक्त भएका साह १४ दिनमै बर्खास्तमा परेका छन् । यसैगरी आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *