सामाजिक फीड-
जनकपुरधाम, चैत २६ गते ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले पदबाट हटाउने तयारी गरेका छन्। श्रमन्त्री साह विवादमा मुछिएको र काम गर्ने शैली समेत चित्तबुझ्दो नभएको भन्दै उनलाई हटाउने तयारी भएको हो ।
उनलाई हटाएर प्रधानमन्त्री शाहले नयाँ मन्त्री बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो । साह १३ चैतमा मन्त्रीमा नियुक्त भएका थिए ।
उनी मन्त्री बनेको आज १४ दिन मात्रै भएको छ । छोटो अवधिमा केही लोकप्रिय काम गर्न खोजे पनि अन्ततः प्रधानमन्त्री शाहले श्रम मन्त्रालयमा अर्को व्यक्ति ल्याउने सोच बनाएको उनको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । तर, निर्णय भने भइसकेको छैन । मन्त्री साह लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। उनी इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका हुन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।