सामाजिक फीड-
जनकपुरधाम, चैत २६ गते ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ।
बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।
राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो पुलको मर्मत र नयाँ पुलको निर्माण सँगसँगै भइरहेको छ। निर्माण अवधिमा सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन प्रयोग हुँदै आएको थियो।
डाइभर्सन बगाउँदा पुरानो पुलको मर्मत कार्य केही समयका लागि रोकिएको प्रहरीले जनाएको छ। त्यसपछि सोही पुलमार्फत सवारी सञ्चालन गर्न माटो भरेर अस्थायी मर्मतको काम थालिएको थियो।
प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे पुरानो पुलमा माटो हालेर सवारी सञ्चालन पुनः सुरु गरिएको छ। अहिले राजमार्ग खुलेको छ र रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।
भारी वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग केही घण्टा अवरुद्ध भएको थियो।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।