सामाजिक फीड-
जनकपुरधाम, चैत २६ गते ।
सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १५ बुधौराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गएको मंगलबार साँझ करिब ७ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त पदार्थको तौल गर्दा २ ग्राम ५०० मिलिग्राम रहेको पाइएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।