Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
२५  गते ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकबाट असुलिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता ले बुधबार जारी गरेको विज्ञप्तिमार्फत कानुनविपरीत संकलित शुल्क विद्यार्थीलाई फिर्ता गर्न भनिएको हो।

मन्त्रालयका अनुसार केही विद्यालयले अझै पनि प्रचलित कानुनविपरीत शुल्क उठाइरहेको गुनासो आएपछि गैरकानुनी रूपमा लिएको रकम फिर्ता गर्न स्पष्ट निर्देशन दिइएको छ।
सरकारले आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ। यसअघि वैशाख १ गतेबाट सत्र सुरु हुँदै आएको थियो। मन्त्रालयले सत्र सुरु हुनुअघि भर्ना अभियान सञ्चालन नगर्न पनि पुनः स्मरण गराएको छ।

विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र प्रारम्भ हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल्ने कार्य रोक्न यसअघि चैत २२ गते जारी निर्देशनको पनि पुनः उल्लेख गरिएको छ।

निर्देशन अवज्ञा गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, शुल्कसम्बन्धी गुनासो दर्ता र सहजीकरणका लागि मा ‘सहायता कक्ष’ स्थापना गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *