सामाजिक फीड
जनकपुरधाम, चैत्र २३ गते l
धनुषा प्रहरीले सर्वसाधारणलाई ठगी गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट पाँच जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-८ बस्ने राम बिलास यादवका छोरा अन्दाजी ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका-४ बस्ने बृक्षा साहका छोरा अन्दाजी ५३ वर्षीय राम बिनोद साह, महोत्तरी पिपरा गाउँपालिका स्थायी घर भई हाल जनकपुर उपमहानगरपालिका-१३ बस्दै आएका लक्ष्मी यादवका छोरा अन्दाजी ४० वर्षीय बिराजी यादव रहेका छन् ।
त्यस्तै, सबैला नगरपालिका-११ बस्ने रशिलाल यादवका छोरा अन्दाजी ४४ वर्षीय जय गोविन्द यादव र जनकपुर उपमहानगरपालिका-२ कदमचोक बस्ने अजय कुमार साहका छोरा अन्दाजी ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरू विभिन्न सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।