Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २३
  गते ।

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेन्डागत सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै राष्ट्रिय एकता र सहकार्यका लागि साझा एजेन्डा बनाउन आह्वान गरे।

उनका अनुसार निर्वाचनअघि विचार र पार्टी फरक हुन सक्छन्, तर निर्वाचनपछि सबैको साझा लक्ष्य समुन्नत नेपाल र सम्मानित नेपाली निर्माण गर्नु हो। उनले लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याउँदै संसद् केवल भाषण गर्ने थलो नभई जनअपेक्षालाई नीतिमा रूपान्तरण गर्ने जिम्मेवार मञ्च भएको उल्लेख गरे।

सांसद् कर्णले लोकतन्त्रमा जनताको आदेश सर्वोपरि हुने बताउँदै नेपाली कांग्रेसको ऐतिहासिक भूमिका पनि स्मरण गरे। उनले २००७ सालदेखि २०६२र६३ को आन्दोलनसम्म लोकतान्त्रिक आधार निर्माणमा कांग्रेसले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे, तर विगतका उपलब्धिसँगै कमजोरीहरू पनि स्वीकार्नुपर्ने बताए।

संविधानमार्फत अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसकेको उनले बताए। ढिलासुस्ती, नीतिगत अवरोध र भ्रष्टाचार नियन्त्रणमा कमजोरीका कारण युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको उनको भनाइ छ।

शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायका क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारसँग सहकार्य गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए। साथै, पार्टी सभापति गगनकुमार थापाको ‘भिजन टेन’ र सरकारका एजेन्डाबीच समानता रहेको जनाउँदै भ्रष्टाचार नियन्त्रण, संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा सहकार्य सम्भव रहेको बताए।

कांग्रेस ‘रूपान्तारित कांग्रेस, परिवर्तित देश’ को दृष्टिकोणसहित युवा स्वरोजगार, नवप्रवर्तन र आप्रवासी सीपको उपयोगमा केन्द्रित रहेको उनले बताए। अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिमार्फत राष्ट्रिय हित संरक्षण गर्दै आर्थिक विकासलाई गति दिन सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

निजी क्षेत्रलाई सहजीकरण, पारदर्शी नियमन र आर्थिक गतिविधि विस्तारमा पनि कांग्रेस सकारात्मक रहने कर्णले बताए। साथै, संविधानलाई अझ जनमैत्री बनाउन आवश्यक परे संशोधनका लागि पनि कांग्रेस तयार रहेको उनले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *