Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २३
  गते ।

सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोप लागेको छ। नगरपालिकामा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवले आफूलाई मेयर यादवले लात-मुक्काले आक्रमण गरेको बताएका छन्।

उनका अनुसार आज बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाउँदै गर्दा मेयर यादव अचानक कार्यालयमा प्रवेश गरी गालीगलौज गर्दै कुटपिट गरेका थिए। रामशरण यादव विगत २४ वर्षदेखि स्वास्थ्य शाखामा काजमा कार्यरत छन्।

सिरहा नगरपालिका–१५ सुकचेना निवासी उनको दरबन्दी भने वडा नम्बर २० स्थित लगडी गदियानी स्वास्थ्य चौकीमा रहेको छ। आफूलाई विधिसम्मत प्रक्रिया पूरा नगरी त्यहाँ जान दबाब दिँदै कुटपिट गरिएको उनले गुनासो गरे। ‘सरुवा गर्ने अधिकार उहाँहरूसँग छ, तर आधिकारिक रूपमा सरुवा नगरी यसरी कुटपिट गर्नु गलत हो,’ उनले भने।

घटनापछि घाइते भएका रामशरण यादवको हाल सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यता मेयर नवीनकुमार यादवले भने कुटपिटको आरोप अस्वीकार गरेका छन्। उनले आफूले हाजिरी गर्न रोक्दा ती कर्मचारी आफैं रुन र कराउन थालेको दाबी गरे। ‘मैले कुटपिट गरेको होइन, हाजिरी नगर्नु भनेपछि उनी आफैं कराउन थाले,’ उनले भने, ‘प्रहरी बोलाएर अस्पताल पठाइएको हो, यो सबै नाटक हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *