Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
 १९  गते ।

आजदेखि जनकपुर सहित देशभर माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परिक्षा सुरु भएको छ। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइएका छन ।

मधेस प्रदेशमा यस वर्षदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन। साथै परीक्षामा सहभागी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई चिट, गाइड, किताब, नोटबुक, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

परीक्षामा देशभरबाट २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनका अनुसार १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ ।
केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताए ।

उनका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण पनि आजबाटै सुरु हुनेछ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिए । यसवर्षको एसईईको परिक्षाको नतिजा एकमहिना भित्रै प्रकाशन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *