सामाजिक फीड-
जनकपुरधाम, चैत १८ गते ।
रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लवकुमार सिंहलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा सिंहलाई ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
अख्तियारका अनुसार उनलाई गौर नगरपालिका–१ स्थित जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउ पर्दा उनको साथबाट घुस रकम र एक थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।