सामाजिक फीड-
जनकपुरधाम, चैत १७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश केन्द्रित दलका नेताहरूसँग संवाद् थालेका छन् । मंगलबार बिहान उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
रास्वपा सभापति लामिछानेलाई भेट्न ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । सभापति लामिछानेको सचिवालयका अनुसार भेटमा वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको हो ।
जनताले दिएको जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् । यस्तै, आजपाका अध्यक्ष साहसँगको भेटमा पनि सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए ।
देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवैपक्ष सहमत भएका छन् ।
सभापति लामिछानेसँग करिब २० मिनेट भेट भएको अध्यक्ष साहले बताए । विशेष गरी सरकारले कर्णाली र मधेशलाई प्राथमिकताका साथ अगाडि बढाउन चाहेको भन्दै मधेशलाई कसरी विकासमा आगाडि बढाउने भन्ने विषयमै छलफल भएको अध्यक्ष साहले बताए ।
भेटको क्रममा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई कसरी हेर्ने, अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि छलफल भएको हो ।
भेटमा सभापति लामिछानेले सरकार सबैको रहेकाले सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्न चाहेको बताए ।
जवाफमा साहले राम्रो गरे समर्थन नराम्रो हुन लागेको अनुभूति भए खबरदारी गर्ने बताए ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।