सामाजिक फीड-
जनकपुरधाम, चैत १७ गते ।
नव नियुक्त गृहमन्त्री सुधन गुरुङले जिम्मेवारी सम्हालेसँगै सुरक्षा निकायलाई सक्रिय बनाउँदै विभिन्न घटनामा संलग्न ठानिएका हाइ प्रोफाइल व्यक्तिमाथि तिब्र गतिमा कारबाही अभियान चलाएकान छन्। आज बिहानै काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
रिजालमाथि गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप लागेको छ। सोही घटनासँग सम्बन्धित विषयमा यसअघि नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो। सत्तारूढ तहमा बसेको व्यक्ति नै आपराधिक अभियोगमा पक्राउ परेको यो घटना नेपाली राजनीतिक इतिहासमा दुर्लभ मानिएको छ।
सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि यी व्यक्तिहरु धमाधम पक्राउ परेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नै उक्त प्रतिवेदन लागू गर्ने निर्णय गरेको थियो, जसलाई कार्यान्वयनमा लैजान गृहमन्त्री गुरुङले अग्रणी भूमिका खेलेका छन्।
यसैबीच, गुरुङकै निर्देशनमा नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई पनि पक्राउ गरिएको छ। उनीमाथि बलात्कारसम्बन्धी मुद्दामा जाहेरी परे पनि लामो समयसम्म कारबाही नभएको आरोप थियो। त्यस्तै, लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई समेत आइतबार राति नियन्त्रणमा लिइएको छ। उनलाई एक बालिकालाई घरेलु श्रमिकका रूपमा राखेको आरोपमा उजुरी परेको थियो, यद्यपि यसअघि मुद्दा अगाडि बढेको थिएन।
सरकारले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य लक्ष्य लिएको बताउँदै आएको छ। यी लक्ष्य कार्यान्वयनमा गृहमन्त्रालयको भूमिका महत्वपूर्ण रहने भएकाले गुरुङले तत्काल नतिजा देखिने गरी काम अघि बढाएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
प्रारम्भिक अनुसन्धान र प्रमाणका आधारमा राजनीतिक पहुँचका कारण हालसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका अन्य केही व्यक्तिहरू पनि आगामी दिनमा अनुसन्धानको दायरामा पर्न सक्ने अनुमान गरिएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।