सामाजिक फीड-
जनकपुरधाम, चैत १५ गते ।
बजेटको दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीले श्रीमती र आफन्तलाई भ्रमणमा लगेको भन्दै धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीले सरकारी खर्चमा धार्मिक तथा पर्यटकीय भ्रमणमा आफ्ना श्रीमती र आफन्तलाई लगेको आरोप लगाउँदै आज स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन ।
जनप्रतिनिधि र कर्मचारीको लापरबाहीले वडाको नियमित सेवा पूर्णरूपमा ठप्प भएको र बजेटको दुरुपयोग भएको स्थानीय गणेश महतोको आरोप छ । जनताको काम छाडेर जनप्रतिनिधि र कर्मचारीले आफ्ना आफन्त घुमाउन वडाको बजेट दुरुपयोग गरेपछि आफुहरुले तालाबन्दी गरेको उनले बताए ।
बजेट खर्चको पारदर्शिता र भ्रमणमा सहभागीको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै स्पष्ट जवाफ र छानबिन नभएसम्म तालाबन्दी जारी राख्ने स्थानीयले चेतावनी दिएका छन्।
वडा कार्यालयले चैत १० गते सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भएकाले पाँच दिनका लागि कार्यालय बन्द रहने जनाएको थियो।
यता भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले वडाका सबै जनता आफन्त नै भएको र सबै राजनीतिक दलको निर्णयअनुसार भ्रमण गरिएको प्रतिक्रिया दिएका छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।