Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, चैत १५ गते ।

राजनीतिक वृतमा भुइँचालो ल्याउने गरि देशमा पछिल्लो समय उत्पन्न राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सतर्कता अपनाइएको छ । पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पुर्व उर्जामन्त्री दिपक खड्का पक्राउ परेपछि प्रहरी हेड क्वाटरको निर्देशन बमोजिम मधेशका प्रहरी हाई एलर्टमा बसेका हुन् ।

स्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सुधन गुरुंगको नयाँ टार्गेटको रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्ने समेत आन्तरिक तयारी भैरहेको छ । भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल र रौतहटमा १८ बर्षअघि तत्कालीन नेकपा माओवादीसंग भिड्दा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको गौर प्रकरणमा जसपाका अध्यक्ष यादवलाई पक्राउ गर्ने सुरक्षा स्रोतको दाबी छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको सपथ लिए लगतै उत्पन्न राजनैतिक उथलपुथललाई मध्यनजर गरि शनिबार बिहानदेखि नै मधेशका प्रहरी हाइ एलर्टमा रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोविन्द थपलियाले बताए । उनका अनुसार पछिल्लो समय देशमा उत्पन्न विकसित अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मदेश प्रहरी र मातहतका प्रहरी युनिटहरूलाई हाइ अलर्टमा बस्न भनिएको छ । प्रहरी मुख्यालयको उक्त निर्देशन पछि अहिले सूक्ष्मरुपमा सबै गतिविधि नियाल्ने काम भइरहेको उनले जनाए । डिआइजी थपलियाका अनुसार प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुबाट समन्वय हिसाबले प्रहरी खटाउने कार्य चलिरहेको छ ।

यसको साथै जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको उनले बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार पूर्व प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका छन् । यसका साथै राजनीतिक छत्रछायाँ पाएर अन्य नेताहरु समेत अपराधिक गतिविधिमा जोडिएपनि जोगिएका थिए ।
यही विकसित राजनीतिक घटनाक्रमले मधेसमा पनि सुरक्षा चुनौती बढ्ने आशंका गरिएको मधेस प्रहरीले जनाएको छ । पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि मधेस प्रदेशमा पनि हाई अलर्ट जारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *