सामाजिक फीड-
जनकपुरधाम, चैत १० गते ।
जनकपुरसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा व्रतालुले चैती छठको सन्ध्या अर्घ्य दिदै छन । आज साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्य घरनजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्दै छन् । नयाँनयाँ बस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बासको ढकिया टाउकोमा बोकेर घाटसम्म लानेछन।
छठ घाटमा व्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा ठकुवा, भुसुवा, केरा, फलफुल लगायत विभिन्न पूजा सामग्रीको अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । छठ मात्र एउटा यस्तो पर्व हो, जसमा व्रतालुलाई पुरोहित आवश्यक पर्दैन ।
व्रतालु आफैंले पूजा गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो व्रतले व्रतालुहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यसरी कोसी भर्दा परिवारका सदस्य,आफन्त,छरछिमेकका पनि त्यहाँ पूजा अर्चना गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालुहरू भने रातभरि त्यहीँ भजन कीर्तन गर्छ ।
आइतबार ‘नहाखाय’ विधिबाट सुरु भएको चैते छठ पर्वमा व्रतालुले सोमबार ‘खरना’ विधि गरेका थिए ।
चार दिनसम्म विशेष धार्मिक विधि र परम्परा अनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा विधिवत् रूपमा मनाउन थालिएको हो।
यो पर्वले सत्य र अहिंसाप्रति आकर्षण बढाउने तथा सबै जीवप्रति दया र सहानुभूति राख्न प्रेरित गर्ने विश्वास गरिन्छ। सूर्यको उपासना गर्ने यो परम्परा संसारमै अनौठो मानिन्छ, किनकि यसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ।
परिवारको सुख, शान्ति, समृद्धि, स्वास्थ्य र मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरूले यो पर्व मनाउँछन्। यस अवसरमा जलाशयहरूमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्दछ। धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीक बनेको यो पर्व हिन्दु समुदायसँगै मुस्लिम समुदायले पनि मनाउने गर्छन्। छठमा ७० प्रकारका सामग्री चढाउने चलन भए पनि सामर्थ्य नभएकाले सामान्य रूपमा चामल मात्र चढाए पनि सूर्यदेव प्रसन्न हुने जनविश्वास रहेको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।