Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १०
 गते ।

सिरहामा मानव बेचबिखन तथा ओसारपसारसँगै यौनधन्दा सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो । यहाँ बसोबास गर्ने दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोनमार्फत सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको प्रहरीको दाबी छ। यस प्रकरणमा दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको छ।

यस्तै, दोस्रो घटना लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’ सँग सम्बन्धित छ। होटल सञ्चालिका अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा ल्याई उनीहरूलाई यौनधन्दामा लगाएको आरोप छ। यस कार्यमा सप्तरीको सुरुङ्गा–९ टिकुलियाका अशोक कुमार चौधरी, नितिक कुमार चौधरी र आकाश चौधरीसमेत संलग्न रहेको प्रहरीको भनाइ छ। यस घटनामा पक्राउ परेका चारै जनामाथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

तेस्रो घटना धनगढीमाई नगरपालिका–११ मा रहेको ‘खुश्बु होटल एण्ड लज’सँग जोडिएको छ। होटल सञ्चालक गुज्जेश्वर साहले दुई जना महिलालाई होटलमा बोलाई जबरजस्ती यौनधन्दामा लगाएको आरोप छ। यसमा सप्तरीको बलान बिहुल–६ का शिवकुमार यादवसमेत संलग्न रहेको प्रहरीको दाबी छ। यस घटनामा संलग्नहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले सबै घटनामा पीडित महिलाहरूको पहिचान गोप्य राख्दै ‘सांकेतिक नाम’ प्रयोग गरेर कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। पछिल्लो समय जिल्लामा होटल तथा निजी आवासलाई प्रयोग गरी यस्ता अवैध गतिविधि बढ्दै गएको सूचनाका आधारमा निगरानी थप कडाइ गरिएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *