Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
५ गते ।

जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि हालसम्म आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको छ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नखुलेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिने प्रावधान कार्यान्वयनमा आएको हो। सोही आधारमा कार्यालयले आवश्यक मापदण्ड पूरा गरेका नागरिकताविहीन व्यक्तिलाई नागरिकता वितरण सुरु गरेको जनाएको छ।

कार्यालयका अनुसार फागुन ५ गतेदेखि तोकिएका कागजात र मापदण्ड पुगेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिइँदै आएको छ।

पर्साको वीरगञ्ज महानगर-११ का विजयकुमार साहले लामो समयसम्म नागरिकता बनाउन भौतारिनु परे पनि आमाको नामबाट नागरिकता पाएपछि राहत मिलेको बताए। “अब विभिन्न प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ,” उनले भने।

त्यस्तै, वीरगञ्ज-१३ का जुबैर अन्सारीले पनि लामो संघर्षपछि नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि भएको बताए। “नागरिकताविहीन हुनुको पीडा निकै कठिन हुने रहेछ, आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै खुशी लागेको छ,” उनले भने।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नियमावली कार्यान्वयनमा आएपछि आवश्यक प्रक्रिया पूरा गरेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालिएको जानकारी दिए। उनका अनुसार यस व्यवस्थाले नागरिकताविहीन भएर आफ्ना अधिकारबाट वञ्चित भएका व्यक्तिलाई ठूलो राहत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *