सामाजिक फीड-
जनकपुरधाम, चैत ५ गते ।
नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका कांग्रेसको पदाधिकारी तहका एक वरिष्ठ नेताले जानकारी दिए। तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन।
कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्।
थापाले राजीनामा दिएपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकको अध्यक्षता नेता थापाले गर्ने छैनन्। उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गर्ने तय भएको छ।
बैठकको मुख्य कार्यसूची सभापति गगनकुमार थापाले दिएको राजीनामा र हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा रहेको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेका थिए।
बैठकमा उपसभापति शर्माले निर्वाचनमा ब्यहोरेको पराजयबारे प्रारम्भिक प्रतिवेदन पेस गर्नेछन्। धेरै ठाउँबाट विवरण आउन बाँकी रहेकाले अहिले प्रारम्भिक विवरण मात्रै राखिने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयले यसअघि नै सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर हार र जितका प्राविधिक तथा राजनीतिक कारण खुलाएर पठाउन निर्देशन दिइसकेको छ।
पार्टी स्रोतका अनुसार बैठकमा सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेमा चर्को बहस हुने देखिएको छ। शेरबहादुर देउवा पक्षले राजीनामाको पक्षमा दबाब बढाउन सक्ने भए पनि उपसभापति शर्माले भने राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरेका छन्।
भोलि हुने बैठकमा समानुपातिकतर्फको सिट बाँडफाँड र नयाँ बन्ने सरकारमा कांग्रेसको भूमिकाबारे पनि छलफल हुनेछ। हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले करिब दुई तिहाइ मत ल्याएपछि कांग्रेस प्रतिपक्षमा बस्ने कि सरकारमा सहभागी हुने भन्नेमा पनि पार्टीभित्र दुई धार देखिएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।