सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।
सर्लाहीमा युवकलाई सामुहिक कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।
कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फन पार्कमा फागुन २३ गते साँझ करिब ४ बजेको समयमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवमाथि अर्धनग्न बनाएर सामुहिक कुटपिट भएको थियो । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
घटनापछि पीडित पक्षले फागुन २९ गते कुटपिट गर्ने रोहित कुमार यादव लगायतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट गरी अंगभंग गरेको आरोपमा जाहेरी दिएका थिए । सोही दिन प्रहरीले प्रतिवादीमध्ये रोहित कुमार यादवलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।
पक्राउ परेका रोहितलाई मिति फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।