सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि महासंघले विज्ञप्ति जारी गर्दै भाडा समायोजन आवश्यक भएको जनाएको हो।
महासंघका अनुसार सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने गर्दछ। त्यसैले लागत बढेको अवस्थामा भाडा पनि समायोजन गर्नुपर्ने उनीहरूको भनाइ छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्ने व्यवस्था भए पनि २०७८ फागुन २२ यता भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार बनाएर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।
संघीय रुटमा यातायात व्यवस्था विभागबाट र प्रदेशअन्तर्गतका रुटमा सम्बन्धित प्रदेश मन्त्रालयमार्फत यथाशीघ्र भाडा समायोजन गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
यसका साथै महासंघले केवल मूल्यवृद्धि गरेर मात्र समस्या समाधान नहुने उल्लेख गर्दै नेपाल आयल निगमभित्र हुने आन्तरिक चुहावट नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको खपत व्यवस्थापन गर्न तथा वैज्ञानिक ढंगले सहज आपूर्ति सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।