Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।

नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाउने सांसदहरूको सूचीमा नेताका परिवार र आफन्तलाई प्राथमिकता दिइएको छ । पार्टीले प्राप्त गरेको २० सिटमध्ये धेरैजसोमा नेतासँग नजिक सम्बन्ध भएका व्यक्तिहरू परेका छन्।
तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा वर्तमान सभापति गगन थापाको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले आइतबार १५ महिला र ५ पुरुषको नाम आयोगमा पठाएको हो।

आयोगमा पठाइएको सूचीअनुसार आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन्।
खसआर्य क्लस्टरबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया रहेका छन्।
त्यस्तै दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेसी क्लस्टरबाट डा। चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा मुस्लिम क्लस्टरबाट साहजान खातुन सिफारिस भएका छन्।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदारलाई पनि सांसदका लागि सिफारिस गरिएको छ।

निर्वाचन आयोगले क्लस्टरको मापदण्डअनुसार सूची मिलेको–नमिलेको जाँच गरेपछि उनीहरूले प्रमाणपत्र पाउनेछन्।
समानुपातिक सूचीमा परेकामध्ये खसआर्य पुरुषतर्फ सिफारिस भएका अर्जुननरसिंह केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन्। उनी यसअघि पटक–पटक सांसद र मन्त्री भइसकेका अनुभवी नेता हुन्।
मधेसी क्लस्टरबाट सिफारिस भएका डा। चन्द्रमोहन यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादवका छोरा हुन्।
खसआर्य महिलातर्फ सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन्।

मधेसी कोटाबाट सिफारिस भएकी नीनु कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन्।
आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका भीष्मराज आङदम्बे कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित नेता हुन्। पाँचथरका आङदम्बे २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका थिए भने २०७४ र २०७९ को निर्वाचनमा पराजित भएका थिए।
खसआर्य महिलातर्फ सिफारिस भएकी रुक्मिणी कोइराला कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित नेतृ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *