सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।
युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षासँग सम्बन्धित सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।
दूतावासले जारी गरेको ‘एडभाइजरी-३’ मार्फत वर्तमान सुरक्षा अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ।
यस्ता सामग्री सार्वजनिक गर्दा सुरक्षा अवस्थाबारे भ्रम फैलिन सक्ने भन्दै नेपाली समुदायलाई जिम्मेवार बन्न दूतावासले अपिल गरेको हो। साथै, यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।
दूतावासका अनुसार यस्ता गतिविधिमा संलग्न पाइए यूएईको कानुनअनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्छ।
त्यस्तै, मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न र त्यस्ता सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।
दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्णपालना गर्न र सत्य तथा आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतहरू मात्र प्रयोग गर्न नेपाली समुदायलाई सुझाव दिएको छ। साथै अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।
यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचनामार्फत मात्र जानकारी लिन दूतावासले आग्रह गरेको छ।
दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।