सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।
१६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक र प्राविधिक दृष्टिले अनुसन्धान अघि बढाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, पोलिग्राफ विज्ञ टोली र अन्य प्राविधिक टोलीहरू अनुसन्धानका लागि खटिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, सीआईबी टोली सुर्खेत पुगेर अनुसन्धान सुरु गरिसकेको छ। नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले अभियुक्तहरूको बयान परीक्षण गर्नेछ। सामाजिक सञ्जाल र विभिन्न बहसका कारण घटनाको स्पष्टता बढाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। सीडीआर विश्लेषकसहितको प्राविधिक टोली पनि अनुसन्धानमा संलग्न छ।
पोस्टमार्टम रिपोर्ट अनुसार जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्ग च्यातिएर अत्यधिक रक्तस्रावका कारण मृत्य भएको हुन सक्ने उल्लेख छ। इनिसा गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी थिइन् र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् र अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले उजुरीका आधारमा तीन नाबालकलाई पक्राउ गरेको छ। मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले इनिसा बेहोस भएपछि अस्पताल लैजान साथीलाई बोलाएको बयान दिएका छन्। प्रहरीले भने जबर्जस्ती करणी भएको पुष्टि भए पनि सामूहिक वा एकल भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।
सीसीटीभी फुटेज अनुसार बिहान ६ बजेतिर इनिसा र ती किशोर मात्रै जंगलतर्फ गएको देखिएको छ, अन्य केटाहरू पछि पुगेका थिए। घटना राष्ट्रिय स्तरमा चर्चामा आएपछि सीआईबीसहित विभिन्न प्राविधिक टोलीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।