सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा १ मा उम्मेदवारी खारेज विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह कमलले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।
निर्वाचन अयोगले उम्मेदवारी खारेज गरेपछि निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते रिट दायर गरेका थिए । तर अहिले सर्वोच्चले आफ्नो वेबसाइटमा भने रिट हेर्न नमिल्नेमा परेको उल्लेख गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदीको इजलासले उम्मेदवार बनेका साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो ।
साहले गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित सर्वोच्च पुगेकोमा उक्त रिटमा सुनुवाइ गर्दै नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी भएको थियो ।
आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ को मतदानमा उनको चुनाव चिह्न घण्टीमा सबैभन्दा बढी भोट आएको थियो । उम्मेदवारी नै खारेज भएको अवस्थामा उनीभन्दा धेरै कम मत पाएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।