सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चुनाव लड्न राजीनामा दिएकाहरुको ठाउँ रिक्त भएको हो ।
रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल अहिले छैन ।
स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।
स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा भएको थियो भने २०७९ साल मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो ।
स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल अहिले एक वर्षभन्दा बढी छ ।
उपनिर्वाचनबारे निर्वाचन आयोग र सरकारले निर्णय गर्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे बताए ।
उनले निर्वाचन आयोग र सरकारको सल्लाह बमोजिम उपनिर्वाचनबारे निर्णय हुने बताए ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण काठमाडौं महानगरपालिकाको प्रमुख पद नै रिक्त छ । काठमाडौंका प्रमुख बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न गएपछि रिक्त भएको हो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिको प्रमुख, चितवनको भरतपुर महानगरपालिका प्रमुखको पद रिक्त छ ।
काभ्रेको धुलिखेल नगरपालिका, मोरङको रंगेली नगरपालिका, इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, स्याङ्जाको कालिकण्डकी गाउँपालिका, कैलालीको टीकापुर नगरपालिको पदाधिकारी पद रिक्त रहेको छ । केही वडा अध्यक्षहरूको पद पनि रिक्त छ ।
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधि उम्मेदवार बनेका थिए । जसमध्ये १४ जना चुनाव हारेका छन् ।
१३ जना प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकोमा पाँचजनाले मात्र चुनाव जितेका छन् ।
निर्वाचन आयोगका पदाधिकारीहरुका अनुसार रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको छ ।
आयोगका अनुसार सप्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेपछि नयाँ सरकार बन्ने र नयाँ सरकारसँग उपनिर्वाचनको विषयमा छलफल हुनेछ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।