Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फाल्गुन २४ गते l

निर्वाचन परिणामअनुसार अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। अन्सारीले उनलाई २९ हजार ५६१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

अन्सारी पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका -१४ बहुअरी निवासी हुन्। उनी समाजसेवी तथा उद्योगी डा. अनवर एलाही अन्सारी का छोरा हुन्।

रहबर अन्सारीले २०७९ सालमा नेकपा (माओवादी केन्द्र) बाट आफ्नो सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए। सोही वर्ष भएको मधेश प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नं. १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

प्रदेश सभा सदस्य रहँदा अन्सारी एक विवादित तर चर्चित घटनाका कारण देशभर चर्चामा आएका थिए। मधेश प्रदेश सभाको बैठक चलिरहेकै बेला उनले आफ्नै अनुहारमा कालोमोसो दलेर विरोध जनाएका थिए।

मुख्यमन्त्री जितेन्द्र सोनल ले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा बोल्दै अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको बताएका थिए। उनले आफू विश्वासको मत नदिने घोषणा गर्दै विरोधस्वरूप आफ्नो अनुहारमा कालोमोसो दलेका थिए।

त्यतिबेला उनले भनेका थिए,
“आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ। अहिलेका हामीमध्ये कसैसँग पनि सरकारको नेतृत्व गर्ने नैतिक अधिकार छैन।”

अन्सारीको अभिव्यक्तिपछि माओवादी केन्द्रकै प्रदेश सभा सदस्य माला कर्ण ले पनि विश्वासको मत नदिने घोषणा गरेकी थिइन्। उनले प्रदेश सरकारका निर्णयहरू केन्द्रको नियन्त्रणमा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्। यसपछि सरकारले विश्वासको मत नपाएपछि सरकार ढल्यो ।

प्रदेश सभामा गरिएको उक्त विरोधका कारण चर्चामा आएका अन्सारी अहिले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा बारा -४ बाट निर्वाचित हुँदै संघीय संसदमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *