सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।
पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै कतारले आफ्नो प्रारम्भिक सुरक्षा रणनीतिमा परिवर्तन गरेको छ। विगत ४८ घण्टामा मिसाइल र ड्रोन आक्रमण रोक्न ‘पेट्रियट’ रक्षा प्रणाली परिचालन गरिएको थियो। तर आकाशमै अवरोध गरिएका मिसाइलका भग्नावशेष शहर क्षेत्रमा खस्ने जोखिम बढेपछि रणनीति पुनरावलोकन गरिएको समाचार अलजजिराले जनाएको छ।
यसै सन्दर्भमा कतारको रक्षा मन्त्रालयले अब राजधानी दोहाको आकाशमा प्रत्यक्ष अवरोध नगरी खाडीको समुद्री क्षेत्रमा नै मिसाइल खसाल्ने उद्देश्यले लडाकु विमान परिचालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट शहरी क्षेत्रमा सम्भावित क्षति न्यून गर्ने प्रयास गरिएको बुझिएको छ।
दोहाको केन्द्र क्षेत्रमा करिब १० घण्टासम्म अवस्था अवलोकन गर्दा कुनै ठूलो विस्फोटको आवाज नसुनिएको जनाइएको छ। शनिबारको तुलनामा आइतबार विस्फोटका आवाज टाढाबाट मात्र सुनिएको र अवस्था केही शान्त देखिएको उल्लेख गरिएको छ।
यसैबीच वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि कतरसहित खाडी मुलुकमा रहेका नेपालीको तथ्यांक पनि सार्वजनिक गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली रहेका छन्। तीमध्ये कतारमा मात्रै ३ लाख ५७ हजार नौ सय १३ नेपाली बसोबास गर्दै आएका छन्।
इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको गरेको थियो । उक्त आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको थियो । त्यसपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूलाई लक्षित गर्दै आक्रमण जारी राखेको समाचारमा उल्लेख गरिएको छ।