Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।

रङहरूको पर्व होली आज देशका पहाडी तथा हिमाली जिल्लामा धूमधामका साथ मनाइँदै छ भने भोलि तराई–मधेसका जिल्लामा मनाइने भएको छ।

फागु पूर्णिमाको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ भने मधेसका जिल्लामा भोलि बिदा रहनेछ। जनकपुरधाम क्षेत्रमा अन्तगृह परिक्रमा सम्पन्न भएपछि बुधबार होली मनाइने छ ।

प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी र हिमाली क्षेत्रमा तथा त्यसको भोलिपल्ट तराई र भित्री मधेसमा होली मनाउने परम्परा छ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। होलीमा आपसी रिसराग त्यागेर आफन्त, साथीभाइ र छिमेकीबीच अबिर र रङ साटासाट गर्दै खुसी साट्ने चलन छ। यसलाई आपसी सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश दिने पर्वका रूपमा लिने गरिन्छ।

रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि सुरु हुने होली पूर्णिमाको राति चीर दाह गरेसँगै औपचारिक रूपमा समापन हुने परम्परा छ।
यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै सभ्य र मर्यादित रूपमा होली मनाउन आग्रह गरेका छन्।

प्रहरी प्रशासनले पनि होलीको नाममा उच्छृङ्खल गतिविधि नगर्न, कसैको इच्छा विपरीत जथाभावी रङ वा अबिर नदल्न सबैलाई सचेत गराएको छ। नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *