Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।

नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट अवलोकन गर्न सकिने यो एकमात्र खण्डग्रास चन्द्रग्रहण हो।

चन्द्रोदयसँगै सुरु हुने ग्रहण राति ७:०२ बजेसम्म रहनेछ। मौसम अनुकूल रहे देशका सबै भागबाट यसलाई स्पष्ट रूपमा देख्न सकिने जनाइएको छ। ग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने पनि सोसाइटीले स्पष्ट पारेको छ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले खण्डग्रास चन्द्रग्रहण घरको छत, खुला चौर वा नजिकैको डाँडाजस्ता खुला स्थानबाट सजिलै अवलोकन गर्न सकिने बताए। चन्द्रोदयसँगै सुरु हुने भएकाले वरपरको उचाइयुक्त स्थानबाट हेर्दा अझ स्पष्ट देख्न सकिने उनको भनाइ छ।

वैज्ञानिक रूपमा हेर्दा, पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। यस क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र चन्द्रग्रहण हुन्छ। चन्द्रमाको आफ्नै प्रकाश नहुने भएकाले पृथ्वीको छायाँले ढाक्दा ग्रहण देखिन्छ।

यद्यपि पूर्णिमाको दिन सूर्य, पृथ्वी र चन्द्रमा लगभग एउटै सीधामा पर्न सक्छन्, तर चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन। चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *