सामाजिक फीड-
जनकपुरधाम, फागुन १७ गते ।
डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै थप शक्तिशाली प्रहार गर्ने चेतावनी दिएका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले लेखेका छन्, “इरानले अहिलेसम्मकै कडा आक्रमण गर्ने चेतावनी दिएको छ। उनीहरूले त्यसो नगरून्। यदि त्यसो गरे भने हामी उनीहरूलाई कहिल्यै नदेखिएको शक्तिले जवाफ दिनेछौं।”
यसअघि इरानी संसदका सभामुख मोहम्मद बकिर कालिबाफ ले ट्रम्प र इसराइल लाई लक्षित गर्दै इरानमाथि भएको आक्रमणको मूल्य चुकाउनुपर्ने बताएका थिए।
अमेरिका र इसराइलको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएको दाबी गरिएको छ। राजधानी तेहरानमा भएको हमलामा उनको मृत्यु भएको जनाइएको छ।
शनिबार इरानमाथि सैन्य कारबाही सुरु भएसँगै इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त आक्रमणको उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको बताएका थिए। त्यसपछि ट्रम्पले भिडियो सन्देश जारी गर्दै इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए।
यद्यपि शनिबार साँझसम्म इरानले खामेनी सुरक्षित रहेको दाबी गरेको थियो। हमलापछि भने उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। यसअघि पनि गत जुन महिनामा अमेरिकाले इरानमा आक्रमण गर्दा खामेनीलाई सुरक्षित बंकरमा सारिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार तेहरानस्थित खामेनीको निवास नजिक शनिबार बिहान विस्फोट भएको थियो, जसबाट निवाससहित आसपासका संरचनामा क्षति पुगेको बताइएको छ। सोही आक्रमणमा खामेनीसँगै उनका परिवारका सदस्यहरू पनि मारिएको दाबी गरिएको छ।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्व गर्दै आएका थिए। उनको मृत्युको खबर सार्वजनिक भएपछि इरानका केही स्थानमा उत्सव मनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तर अमेरिका र इसराइलको आक्रमण जारी रहेको भनिएकाले धेरै नागरिक अझै घरभित्रै बसिरहेको बताइएको छ।
खामेनीको मृत्युपछि अब इरानको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ। यसअघि पनि जुन महिनामा इरानमाथि आक्रमणका क्रममा इसराइलले खामेनीलाई लक्षित गर्ने योजना बनाएको थियो, तर त्यसबेला ट्रम्पले सहमति नदिएपछि उक्त योजना स्थगित गरिएको बताइएको थियो।