सामाजिक फीड-
जनकपुरधाम, फागुन १५ गते ।
भ्रष्टाचार मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा करिब नौ महिनाअघि दायर अभियोगमा बिहीबार विशेष अदालतले आंशिक कसूर कायम हुने निर्णय सुनाएको हो।
फैसलाअनुसार तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह र सब इञ्जिनियर जयनारायण यादव दोषी ठहर भएका छन्।
अदालतले करिब ३४ लाख ४० हजार रुपैयाँ बराबरको अनियमिततासम्बन्धी मुद्दामा दोषी ठहरिएका चारै जनाको सजाय निर्धारणका लागि फागुन २६ को मिति तय गरेको छ । सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले यो मुद्दाा टुंग्याएको हो।
संक्षिप्त आदेशअनुसार अध्यक्ष यादवलाई तीन महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाइएको छ। अन्य तीन प्रतिवादीको सजाय निर्धारण भने आगामी सुनुवाइमा गरिनेछ।
गाउँपालिकाको कार्यपालिका बैठकले २०७६ फागुन १ मा उपभोक्ता समितिमार्फत भवन निर्माण गर्ने
निर्णय गरेको थियो। त्यस निर्णयपछि निर्माण प्रक्रिया त्रुटिपूर्ण ढंगले अघि बढाइएको तथा त्यसलाई औचित्यपूर्ण देखाउन गलत अनुगमन प्रतिवेदनसमेत तयार गरिएकोमा अध्यक्ष यादवको प्रत्यक्ष संलग्नता देखिएको ठहर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट भवन निर्माणको कुल लागत अनुमान करिब ६ करोड १८ लाख रुपैयाँ भएतापनि त्यसलाई खण्डीकरण गरी उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको पाइएको थियो।
यस्तै, यस मुद्दामा उपभोक्ता समितिका पदाधिकारी रामचन्द्र यादव, कोशिला देवी यादव र दीपेन्द्रकुमार यादवलाई सफाइ दिएको छ। कागजात र सम्झौताअनुसारकै काम गरेको देखिएकाले उनीहरूलाई दोषी नठहराइएको अदालतले जनाएको छ। यसका साथै अनुगमनमा संलग्न शोभाकुमारी, रमेशकुमार निधी, सञ्जय प्रसाद यादव, मदन यादव र मनोजकुमार यादव तथा लेखापाल सोमप्रसाद आचार्यलाई पनि बदनियत पुष्टि नहुने आधारमा सफाइ दिइएको छ।
आयोगले गत जेठ १३ गते १३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।