Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते ।

फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध पुर्‍याएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

निर्वाचन आयोग का अनुसार संघीय कानुन अनुसार कसैलाई निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट रोक्ने उद्देश्यले अवरोध पुर्‍याउने, पुर्‍याउन लगाउने, थुनछेक गर्ने वा गराउने काम गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको छ। केही स्थानमा अन्य दल, उम्मेदवार, कार्यकर्ता वा आम नागरिकबाट प्रचारकार्यमा अवरोध सिर्जना भएको उजुरी र गुनासो प्राप्त भएको आयोगले जनाएको छ। सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएको हुँदा आयोगले गम्भीर ध्यानाकर्षण गरेको छ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रमलाई अवरोध गर्नु, भंग गर्नु वा बाधा पुर्‍याउनु पाउँदैन।

निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार कसैले उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने उद्देश्यले अवरोध पुर्‍याउन नपाउने कानुनी व्यवस्था रहेको छ।

आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी राजनीतिक दल, उम्मेदवार, आम नागरिक र सबै सरोकारवालाको साझा दायित्व रहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचनसम्बन्धी संघीय कानुनअनुसार प्रचारप्रसारमा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने जस्ता कार्य नगर्न आयोगले सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *