सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते ।
फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अगावै सीमा सिल गर्ने तयारी गरिए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय साधुसन्त तथा श्रद्धालुहरूलाई घर फर्किन कुनै अवरोध नगरिने स्थानीय प्रशासनले जनाएको छ।
निर्वाचनअघि सीमा सिल गरिने व्यवस्थाका कारण परिक्रमा समाप्तिको समयमा भारतीय सहभागीहरूलाई फर्किन समस्या हुने चौतर्फी चासो उठेपछि धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेर उनीहरूलाई सहज रूपमा घर फर्किन दिने निर्णय गरेको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनको मौन अवधिमा समेत परिक्रमा सहभागी भारतीय नागरिकलाई आफ्नो गन्तव्यमा फर्किन रोक नलगाइने स्पष्ट पारे। उनका अनुसार सीमा सिल भएपछि बाहिरबाट प्रवेश भने दिइने छैन। तर परिक्रमामा सहभागीहरूलाई २० गतेसम्म सीमा प्रहरीसँग समन्वय गरी फर्किन सहजीकरण गरिनेछ। २१ गते निर्वाचनका दिन भने विशेष सुरक्षा व्यवस्था रहने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले लिखित निर्णय नभए पनि सर्वदलीय सहमतिअनुसार घर फर्किन अवरोध नहुने बताए। उनले परम्परागत रूपमा अन्तरगृह परिक्रमा सम्पन्न गरी फर्किने सहभागीहरूका लागि २० गतेसम्म सीमा पार गर्न सहजीकरण गरिने जानकारी दिए।
१५ दिने परिक्रमा मिथिला बिहारीको कचुरीबाट निस्केर जनकपुरधामको हनुमानगढीमा रुकेका थिए । त्यहाँबाट निस्केपछि परिक्रमाको औपचारिक सुरुवात भएको थियो ।
भगवान श्री रामजानकीको डोलासहित नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने परम्परा रहिआएको छ। यात्रा १८ गते जनकपुरधाम आइपुग्ने र १९ गते नगरको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुनेछ।
परिक्रमा मार्गअन्तर्गत जनकपुरधामको हनुमाननगरबाट कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै ध्रुवकुण्ड र कञ्चनवनसम्म यात्रा गरिन्छ। कञ्चनवनमा होली खेलेपछि टोली धनुषाको पर्वता, धनुषाधाम, सतोषर र औरहीमा एक–एक रात विश्राम गर्दै पूर्णिमाको अघिल्लो रात जनकपुरधाम फर्किने कार्यक्रम छ। पूर्णिमाका दिन नगर परिक्रमा तथा होली उत्सवसहित १५ दिने यात्रा सम्पन्न हुनेछ।