सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरे पनि मधेस प्रदेशमा अधिकांश हतियारधनीले अझै बुझाएका छैनन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशभर रहेका २ हजार ५३१ इजाजत प्राप्त हातहतियारमध्ये हालसम्म ४८१ वटा मात्र बुझाइएका छन् भने २ हजार ५० वटा अझै बुझाउन बाँकी छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आठवटै जिल्ला प्रशासन कार्यालयले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सूचना जारी गरेका थिए। तर समयसीमा सकिँदासमेत अपेक्षित संख्यामा हातहतियार नबुझाइएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार फागुन १० गतेसम्म रौतहटमा ४७१ मध्ये १२३, धनुषामा ४६९ मध्ये १३, महोत्तरीमा ३३४ मध्ये १०१, सर्लाहीमा ३३४ मध्ये ६५, सिरहामा २९२ मध्ये ११, पर्सामा २५८ मध्ये ५३, बारामा २४१ मध्ये ९७ र सप्तरीमा १३२ मध्ये १८ वटा हातहतियार बुझाइएका छन् भने बाँकी अझै संकलन हुन बाँकी रहेको छ।
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा पर्ने अधिकांश मतदान स्थललाई सुरक्षा निकायले अति संवेदनशील रूपमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।