सामाजिक फीड-
जनकपुरधाम, फागुन ११ गते ।
सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध तथा मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो। घटनाका क्रममा चलेको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए।
प्रहरीले घटनामा प्रयोग गरिएको अटोरिक्सा नियन्त्रणमा लिएको जनाएको छ भने अन्य फरार आरोपितहरूको खोजी कार्य जारी रहेको बताइएको छ।