Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ११  गते ।

मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला बिहारीको डोलासहित परिक्रमा यात्रीहरू आज महोत्तरीको कञ्चनवन पुग्दै छ । ध्रुवकुण्डबाट निस्केको डोला आज कञ्चनवन पुगेपछि परम्पराअनुसार श्रद्धालुहरूले एकअर्कालाई रंग-अबिर दलेर होली पर्व मनाउने छन् ।

धार्मिक विश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले कञ्चनवनमै होली खेलेको सम्झनामा प्रत्येक वर्ष परिक्रमा डोला यहाँ पुगेपछि होली खेल्ने परम्परा रहिआएको छ। कञ्चनवनमा परिक्रमा डोला पुगेपछि होली खेलेसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्वको औपचारिक आगमन भएको मानिन्छ।

फागुन शुक्ल प्रतिपदादेखि सुरु भएको मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने परम्परा रहेको छ। कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमसमेत रहेको छ। धार्मिक मान्यताअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको विश्वास गरिन्छ।

कञ्चनवनको ऐतिहासिक र धार्मिक महत्वलाई मध्यनजर गर्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पछिल्ला वर्षहरूमा यहाँ विशेष होली महोत्सवसमेत आयोजना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *