Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

इरानमा विद्यार्थी आन्दोलन पुनः चर्किएको छ। राजधानी तेहरान सहित विभिन्न विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै प्रदर्शनहरू सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तेहरानस्थित शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरूले मार्च गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। राजधानीकै अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थीहरूले धर्ना र विरोधसभा आयोजना गरेका छन्। उत्तरपूर्वी क्षेत्रका क्याम्पसहरूमा समेत विरोध कार्यक्रमहरू जारी रहेका छन्।

गत जनवरीमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा विश्वविद्यालयहरूमा कार्यक्रम आयोजना गरिएको थियो। ती संस्मरण सभामा सरकारी सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोजेपछि पुनः आन्दोलन चर्किएको बिबिसीले उल्लेख गरेको छ। केही स्थानमा विद्यार्थी र सुरक्षाकर्मीबीच झडपसमेत भएको जनाइएको छ।

यसैबीच,रोयटर्सका अनुसार केही विश्वविद्यालयमा सुरक्षा निकायको कडा उपस्थिति, विद्यार्थीमाथि धरपकड तथा अनुशासनात्मक कारबाहीका नाममा निलम्बन गरिएपछि असन्तुष्टि थप बढेको छ। जनवरीयता रोकिएको आन्दोलन पुनः सुरु भएसँगै यसलाई पछिल्लो समयकै ठूलो विद्यार्थी प्रदर्शनका रूपमा हेरिएको छ।

उता, इरानमाथि आन्तरिक र बाह्य दबाब पनि बढ्दो छ। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति बढाएको छ। कूटनीतिक प्रयास असफल भए सैन्य विकल्प खुला रहने चेतावनी अमेरिकी पक्षले दिँदै आएको छ। परमाणु कार्यक्रमसम्बन्धी सहमति गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले इरानलाई १० देखि १५ दिनको समयसीमा दिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *