Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका-६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय का डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहसहित कर्फ्यू उल्लङ्घन गरेको आरोपमा थप २१ जनालाई नियन्त्रणमा लिइएको छ। अहिलेसम्म २३ जनालाई नियन्त्रणमा लिएका उनले जानकारी दिए। पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ पनि रहेका छन्।

शनिबार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय आसपासका क्षेत्रमा जारी कर्फ्यू निरन्तर छ। हाल जिल्ला प्रशासन कार्यालयमा हिन्दु-मुस्लिम विवादबारे सर्वपक्षीय छलफल भइरहेको प्रहरीले जनाएको छ।

जन्ती गएका हिन्दु समुदायका व्यक्ति मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको बताइएको छ। मुस्लिम समुदायका अनुसार रमजान महिनामा नमाज पढिरहेको समयमा डिजे बजाएर अवरोध पुर्‍याइएको थियो। शनिबार दुई समूहबीच झडप हुँदा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *