सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।
रौतहटमा भएको सामुदायिक द्वन्द पछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्युलाई निरन्तरता दिएको छ ।
आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्युलाई केही खुकुलो गरिए पनि अहिले पुनस् निरन्तरता दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना नआएसम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको जानकारी दिए ।
कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
शनिबार बिहान गौर नगरपालिका ६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेका थिए । त्यसपछि प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरेका थिए ।