सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले ७ वर्षीया बालिकाको अपहरण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ९ सर्पा बस्ने ३० वर्षीय इम्तियाज अहमद रहेका छन्।
प्रहरीका अनुसार सोमबार बेलुका करिब ७ बजेतिर खडक नगरपालिका ८ बिसनपुरस्थित भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले नम्बर नखुलेको मोटरसाइकलमा राखी बेपत्ता बनाएका थिए।
बालिकाको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले म्यानुअल तथा प्राविधिक विश्लेषण गर्दै अनुसन्धान अगाडि बढाएको थियो। यसैबीच बिहीबार बिहान करिब ११ बजे अपरिचित व्यक्तिले बालिकाका बुवा इमरान खानलाई फोन गरी १ करोड रुपैयाँ नगद र ५ केजी सुन लिएर रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा आउन भन्दै फिरौती मागेका थिए।
प्रहरी टोली सो स्थानमा पुगेर इम्तियाज अहमदलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।