सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।
शिवरात्रीको भोलिपल्ट काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको शव फेला परेको छ। घटनास्थलको निरीक्षणपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीहरूले घटनास्थलको मुचुल्का गरी अनुसन्धान गरिरहेका छन्। मृतकको शरीरमा नीलपानी र चोटपटक देखिएको हुँदा मृत्यु संकास्पद मानिएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार मृतक संखुवासभा घर भई हाल पशुपति क्षेत्रमा बस्ने २५ वर्षीय सन्तोष गिरी हुन्। “शरीरमा चोटपटक देखिएको र घटना संकास्पद भएको कारण अनुसन्धान भइरहेको छ,” उनले भने।
प्रहरीले घटनालाई हत्या जस्तो देखेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका थप विवरण सार्वजनिक हुनेछन्।
प्रहरी स्रोतका अनुसार यस घटनामा एक ‘बाबा’को संलग्नता देखिएको छ। मृतक गिरी राति बाबासँगै बसेको पुष्टि भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा पाएको तथ्यअनुसार, शिवरात्रीको दिन पशुपतिमा आएका एक बाबाको मोबाइल हराएको थियो, र उक्त मोबाइल गिरीसँग सम्बन्धित विवादमा आएपछि घटना भएको हुनसक्ने आशंका गरिएको छ।
स्रोतले बतायो, “मोबाइल नभेटिएपछि बाबाले गिरीसहित तीनै जनालाई नियन्त्रणमा राखेर यातना दिई हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक विश्लेषण हो।”
‘बाबा’ लामो समय भारतको बनारसमा बस्दै आएपछि हाल नेपालमै रहेका थिए। उनी राजवंशी थरका नेपाली नागरिक हुन् र फरार रहेका छन्। प्रहरीले फरार बाबाको पहिचान गरिसकेको छ र पक्राउको प्रयास जारी छ।
यस घटनासम्बन्धी थप विवरण हाल गुपचुप राखिएको छ र प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।