Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।

रौतहटको सदरमुकाम गौर नगरपालिका-६ सबगढा गाउँमा दुई समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।

बिहीबार राति हिन्दू समुदायको एक विवाह समारोहमा जन्ती बाजागाजासहित गाउँ प्रवेश गरेको थियो। सोही समयमा सबगढामा रहेको मस्जिदमा मुस्लिम समुदाय नमाज पढिरहेका थिए। नमाजको समयमा बाजा बजाइएको विषयलाई लिएर दुवै पक्षबीच भनाभन सुरु भएको बताइएको छ।

स्रोतका अनुसार प्रारम्भिक विवादपछि मुस्लिम समुदायका केही व्यक्तिले डिजे समूहका सदस्यहरूमाथि कुटपिट गरेका थिए। यही घटनाको प्रभाव स्वरूप शुक्रबार बिहानदेखि पुनः दुई समुदायबीच झडप भएको हो।

आज बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भइरहेको जनाइएको छ। घटनापछि क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको जानकारी दिएका छन्।

अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

यस प्रकारको घटना दुःखद भएको उल्लेख गर्दै प्रशासनले दुवै पक्षबीच वार्ताको पहल भइरहेको जनाएको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबैलाई अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *