सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।
इस्लाम धर्मावलम्बीहरूको महान तथा पवित्र पर्व रमजान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पवित्र महिनामा मुस्लिम समुदायले दिनभर निराहार रही रोजा (उपवास) बस्ने गर्छन्।
रमजानका दौरान शरीर र मनलाई शुद्ध राख्दै संयमपूर्वक जीवनयापन गर्नुपर्ने धार्मिक मान्यता छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयअनुसार फरक हुने भएकाले बिहान तोकिएको समयअघि ‘सेहरी’ (बिहानको भोजन) लिइन्छ भने सूर्यास्तपछि ‘इफ्तार’ गरेर रोजा खोलिन्छ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४४ को नवौँ महिना रमजान हो। धार्मिक विश्वासअनुसार यही महिनामा मुस्लिम धर्मको पवित्र ग्रन्थ कुरान अवतरण भएको मानिन्छ। यस अवधिमा अल्लाहप्रति कृतज्ञता व्यक्त गर्ने, दान-दक्षिणा गर्ने, गरिब तथा दीन दुःखीको सेवा गर्ने र जकात निकाल्ने विशेष परम्परा रहेको छ।
रमजानको सुरुवात चन्द्र दर्शनबाट हुने भएकाले चन्द्रमा देखिएपछि रोजा प्रारम्भ गर्ने चलन कायम छ। यो महिना त्याग, तपस्या, आत्मअनुशासन र आध्यात्मिक साधनाको प्रतीकका रूपमा लिइन्छ।
यद्यपि, नाबालक, बिरामी, गम्भीर रोगी तथा गर्भवती महिलालाई रोजा बस्न अनिवार्य गरिएको छैन। मुस्लिम समुदायले रमजानलाई आस्था, अनुशासन र मानव सेवाको महान पर्वका रूपमा श्रद्धापूर्वक मनाउने गर्छन्।