Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटना गएराति करिब ८ बजे भएको हो। दुर्घटनामा हरीपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो।

दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

यसै दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ का २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

ईश्वरपुर-१३ अन्तर्गत बाँकेसंग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल एकै स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *