Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।

मिथिला मध्यमा परिक्रमा यात्रीहरू महोत्तरीको मटिहानी पुगेका छन्। सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको परिक्रमा औपचारिक रूपमा सुरु भएको हो।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासहित १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा भइरहेको छ। यस क्रममा नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको छ। सोही यात्राक्रममा बिहीबार परिक्रमा यात्री मटिहानी पुगेका हुन्।

मटिहानीमा नगरप्रमुखसहित सुरक्षा निकायका प्रमुखहरूले परिक्रमा यात्रीहरूको स्वागत गरेका छन्। आज मटिहानीमै बास बसेर भोलि परिक्रमा यात्रीहरू जलेश्वर प्रस्थान गर्ने कार्यक्रम छ।


परिक्रमा यात्री जलेश्वर आगमन गर्ने निश्चित भएपछि जलेश्वर नगरपालिकाले शुक्रबार नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ। नगरप्रमुख सुरेश साह सोनारका अनुसार मिथिलाञ्चलको ऐतिहासिक, पौराणिक तथा धार्मिक धरोहरका रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमा जलेश्वर आइपुग्ने भएकाले बिदा दिइएको हो।

नगरपालिकाको मंगलबारको निर्णयअनुसार अत्यावश्यक सेवा बाहेक नगरपालिका कार्यालय, मातहतका सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थाहरूमा स्थानीय बिदा रहने प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरले जानकारी दिए।

यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरी ले परिक्रमा यात्री महोत्तरीका पडावस्थलमा पुग्ने दिन मासु तथा मदिराको बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *