Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ७ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियान थालेको छ । सप्तरीबाट राप्रपाले आमसभा आयोजना गरि अभियान सुरु गरेको हो । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् । फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

९ गते शनिबार बारा र पर्सामा बिभिन्न ठाउँमा कोणसभा छ । १० गते रौतहट र सर्लाही तथा ११ गते धनुषा र महोत्तरीमा राप्रपाको कोणसभाहरू हुनेछन् । २१ फागुनको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय सुरु भएको हो । राजनीतिक दल र उम्मेदवारले यही फागुन १८ गतेसम्म प्रचारप्रसार गर्न पाउँछन् ।

त्यसपछि मौन अवधि सुरु हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ सिटका लागि दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार रहेका छन् । समानुपातिक तर्फ ६३ दलबाट तीन हजार १३५ जना रहेका छन् ।

राप्रपाले समानुपातिकतर्फ ११० जनाकै नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ सिटमध्ये १६३ सिटमा उम्मेदवार उठाएको छ । समानुपातिक तर्फ दलले पाएको मतका आधारमा सांसद चुनिन्छन् । प्रत्यक्षतर्फ भने सदर मतमा बढी मत ल्याउने निर्वाचित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *