Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।

टी २० विश्वकप २०२६ मा नेपाल आज आफ्नो अन्तिम खेल खेल्दै छ । भारतको मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा आज राति सवा सात बजे नेपाल र स्कटल्यान्डबीच हुने दुबै टिमका लागि अन्तिम खेल हो ।

आजको खेलले सुपर-८ को समिकरणमा कुनै अर्थ राख्ने छैन। किनभने दुवै टिम समूह ‘सी’ को अन्तिम खेलअघि नै बाहिरिसकेका छन्। यद्यपि यसले दुवै टोलीको प्रतिष्ठा र भविष्यको कथा पक्कै लेख्नेछ।
नेपालका लागि यो विश्वकप आशा र निराशा को दोभान जस्तै रह्यो। पहिलो खेलमा विश्वविजेता इंग्ल्यान्डलाई हारको संघारमा पुर्‍याउँदा विश्वभरका क्रिकेट प्रेमीले नेपालको तारिफ गरेका थिए । तर, त्यो उत्साह अर्को खेल हुँदा रहेन ।

इटालीसँगको १० विकेटको हारले नेपाली समर्थकको मन मात्र टुटेन, टोलीको आत्मविश्वासमा पनि चोट पुग्यो।
नेपालले आफ्नो तेस्रो वेस्ट इन्डिजसँगको खेलमा माथिल्लो क्रमको ब्याटिङ तासको महल झैं ढल्यो, जहाँ फेरि पनि दीपेन्द्र सिंह ऐरीले एक्लै लडेर टोलीको लाज जोगाएका थिए ।

अर्को तर्फ स्कटल्यान्ड विश्वकपमा छनोट भएकै थिएन। बंगलादेशले विश्वकपबाट नाम फिर्ता लिएपछि अन्तिम समयमा समावेश भएको यो टोलीले आफूलाई ‘अभागी’ होइन, ‘योग्य’ प्रमाणित गरेको छ ।
स्कटल्यान्डले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई हम्मेहम्मे पारेका थिए भने इटालीलाई सहजै हराए । इंग्ल्यान्डलाई समेत हारको डर देखाइदिएका थिए ।

वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर ८ मा पुगिसकेका छन्, त्यसैले आज हुन लागेको खेलले नतिजामा फरक पार्दैन। तर, यो खेल ‘अर्थहीन’ भने छैन।
स्कटल्यान्डका लागि यो खेल विश्वलाई देखाउने मौका हो भने नेपालका लागि यो खेल हराएको साख फर्काउने र आफ्ना ती लाखौं समर्थकहरूको अनुहारमा मुस्कान ल्याउने अन्तिम अवसर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *